खेलकुद

खप्तड गोल्डकप : संकटा क्वाटरफाइनलमा

काठमाडौं । सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ ।

शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो । धनगढी रंगशालामा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । १८ औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिए ।

३८ औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तीशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ दिँदै बचाए । इन्जुरी समयको पहिलो मिनेटमा संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।

दोस्रो हाफको ६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि एलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथि गएपछि गोर्खा ब्वाइजले सान्त्वना गोल फर्काउन सकेन ।
विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचे अनुरुप हुन नसकेको बताए । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ ।
पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् । संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीको सामना गर्नेछ ।