पत्रपत्रिका

तलबको निश्चित रकम आमाबाबुको खातामा

काठमाडौं । छोराछोरीले मासिक रुपमा गर्ने कमाइको निश्चित प्रतिशत अब आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरेअनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाइको निश्चित प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । ऐनको प्रारम्भिक मस्यौदामा १० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ तर प्रस्तावित विधेयकमा नियमावली वा निर्देशिकाबाट रकम तोक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकअनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघसंगठन तथा कम्पनीबाट पारिश्रमिक लिइरहेका व्यक्ति, स्वरोजगार, व्यापार वा अन्य आयबाट तोकिएभन्दा बढी आम्दानी गर्ने व्यक्तिका साथै निवृत्तिभरण पाइरहेका व्यक्तिले पनि आमाबाबुको नाममा रकम जम्मा गर्नुपर्नेछ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।