राजनीति

नेविसंघ भित्र भाडभैलो, ७ जना पदाधिकारीले दिए राजीनामा

काठमाडौं । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ७ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहका नैनसिंह महरकै नेतृत्वमा रहेको नेविसंघमा संस्थापन समूहका सात पदाधिकारीले राजीनामा दिएपछि नेविसंघको भविष्य अन्योलमा परेको छ । दुई पटक गरेर थपिएको पाँच महिनाको मसयमा पनि महाधिवेशन गर्न नसकेपछि संस्थापन समूहभित्रै भाँडभैलो सुरु भएको हो।

पुस २८ गतेदेखि ३० गतेसम्म महाधिवेशनको समय तोकिए पनि महाधिवेशन गर्न नसक्दा संगठन भद्रगोल भएको हो। महाधिवेशन समयमा गर्न नसकेको भन्दै उपाध्यक्षहरू पुष्पकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले सभापति देउवालाई भेटेर राजीनामा दिएका हुन् ।

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उनिहरुको भनाइ रहेको छ।महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले अहिलेसम्म १६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ ।

अध्यक्ष महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।