समाचार

किशोरीलाई आत्मरक्षा तालीम

भरतपुर । महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालीम’ दिएको छ ।पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालीम दिइएको हो ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालीम सञ्चालन गरिएको छ । तालीममा सहभागी किशोरीले आफँै तालीम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालीम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिए ।

“पहिलो चरणमा तालीम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालीम दिनेछन्”, उनले भने, “माघ महीनादेखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ ।” किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालीम दिइएको भुसालले बताए ।

महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालीमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गरे। किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिएका छन् । यसअघि जिल्लामा राष्ट्रिय खेलकूद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको थियो ।