साहित्य

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन

काठमाडौँ । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उहाँको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको आज लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरे ।

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको बताए । नेपालमा यस्ता कृति जे जति निस्कनु पर्ने हो त्यो ननिस्किएको उनको भनाइ थियो ।

सङ्कुचित राष्ट्रियतातर्फ मुलुक गइरहेको बेलामा पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेको उल्लेख गरे । पछिल्लो समयमा राष्ट्रियतालाई कमजोर बनाउने खेल भएको भन्दै यसमा सतर्क हुनुपर्ने बताए ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताए । नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको उनको भनाइ छ ।

पृथ्वीनारायण शाहलाई चिन्न पुस्तकले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मुलुकलाई फेरि एकीकरणको खाँचो आवश्यक रहेको बताए । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउन पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपालमा धेरै शासकले शासन गरेपनि पृथ्वीनारायण शाह सफल व्यक्ति भएको उल्लेख गरे । “देश बनाउने व्यक्तिलाई गौरव गर्नुपर्छ, दुर्भाग्यवश विगतको इतिहासलाई वर्तमान पुस्ताले बिर्सदै गएको छ”, उनले भने । पृथ्वीनारायण शाह भएका कारण आज मुलुक बाह्य शक्तिको अधिनबाट जोगिएको उनको भनाइ थियो । परम्परागत कृतिमा नयाँ कृति थपिएको दाहालले बताए ।

पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताए। पृथ्वीनारायण शाहले नजितेको भए हामी अरु कसैको दास भएर बस्नुपर्ने उनको थियो । पुस्तकले इतिहास जोडेको बताउँदै उनले मुलुकले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन हुनुपर्ने बताए । इतिहासको लुकेको भागलाई पुस्तकले समावेश गरेको उनको भनाइ थियो ।

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरि घुमेको बताए । “म इतिहासको विद्यार्थी भएको कारणले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ”, उनले भने । पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो कि भन्ने आभाष भएको उनको भनाइ थियो ।

ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईले जागिरका दौरानमा आफ्ना लेख रचना प्रकाशनमा ल्याउन नसकेका स्रष्टाले पछिल्लो समय प्रकाशन गरेर आम जनतासामु ल्याउन पाएकामा खुशी व्यक्त गरे ।