पु.समाचार

चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा पूर्वराष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त

घोराही । पूर्वराष्ट्रपति डा. रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन् । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा.यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे ।

‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ चार/पाँच वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए’ उनले प्रश्न गर्दै भने, “यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ”

डा. यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उनले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राखे । यसमा नेपालका तीनै तहका सरकार, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको साथ र सहयोगको आवश्यकता उनले औँल्याए ।

अर्को प्रसङ्गमा डा यादवले भने, “मेरो प्रमुख चाहना संविधान लागू होस्, सुशासन कायम रहोस्, स्वच्छ वातावरण होस्, देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ ।” सो अवसरमा सङ्घका सभापति नारायण भुसालले ५ नं प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।