समाचार

दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने

हेटौँडा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीको तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँंडामा कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले राष्ट्रको मौजुदा संविधानको साथै राष्ट्रियताको दिगो संवद्र्धनको लागि प्रमुख दलहरुले आफ्नो बानी व्यहोरामा परिवर्तन गरी देश र जनताप्रति जिम्मेवार हुने प्रवृत्तिको विकास गर्नसके पृथ्वीनारायण शाहको दिव्योपदेशले सार्थकता पाउने बताए ।

उनले राजनीतिक नेतृत्वमा दलगत स्वार्थलाई त्यागेर सुशासन र भ्रष्टचारमुक्त समाज निर्माण गर्न राजनीतिक दलले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने सुझाव दिँदै स्थानीय निकायका जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुने क्रममा ऐन कानूनको परिधिभित्र रही भ्रष्टाचारलाई न्यूनीकरण गर्न आह्वान गरे ।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह, नेपाली काङ्ग्रेस मकवानपुरका सचिव आनन्द कठायत र राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले मुलुकमा प्रजातन्त्रको सुढृढीकरण गर्न, स्थायी शान्ति कायम गरी जनतालाई मानव अधिकारको प्रत्याभूति गर्ने कार्यमा राजनीतिक दलहरुको भूमिका सकारात्मक हुनुपर्ने धारणा व्यक्त गरे ।