समाचार

सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट मानव तस्करी

खजुरा । बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ ।पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको आगामी दिनको कार्य योजना तथा व्यवस्थापनमा सुधार ल्याइने नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले बताए । मानव बेचबिखन गम्भीर फौजदारी अपराध हो । मानिसलाई किन्ने वा बेच्नेलाई नेपालको कानूनले २० वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजाने र कारोवार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने कानून व्यवसायी अधिवक्ता वसन्त गौतमले बताए ।

मानव बेचबिखनमा प्रायः महिला तथा बालबालिका नै पर्ने गर्दछन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाले पनि महिला र बालबालिकाकै विषयमा काम गर्ने हुनाले मानव बेचबिखन नियन्त्रणमा यो शाखाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उक्त शाखाले मानव बेचबिखन नियन्त्रणका लागि योजना बनाइरहेको उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले बताए ।

नेपालमा मानव बेचबिखनको सवाल जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । राष्ट्र र महिला दिदीबहिनीको इज्जत र अस्मितासँग जोडिएको यो सवाल राजनीतिको प्रमुख मुद्दा बन्न नसकेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । मानव बेचबिखनको प्रभावकारी व्यवस्था नहुँदा वर्षेनी सयौँ नेपालीले समस्या झेल्दै आएका छन् ।