कृषि

सहकारीमार्फत सामूहिक आलु र प्याजखेती

दमौली । बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् ।

भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु गरेको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिए । उनका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मङ्सिर महीनादेखि सामूहिक आलुखेती गरिएको छ भने पुस २० गतेदेखि प्याजसमेत रोपिएको छ ।

गाउँमा कृषि कर्म गर्ने युवा नहुँदा खेतबारीमा बाँझै रहेकाले जग्गाको सदुपयोग गर्दै आम्दानी गर्ने उद्देश्यसहित सामूहिकरुपमा खेती थालिएको महतले बताए । उनले भने, “गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् । काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ ।” २३ रोपनी जग्गा भाडामा लिएर सामूहिकरुपमा खेती थालिएको कृषि सहकारीका सदस्य वासुराज कडरियाले जानकारी दिए ।

उनका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र सात रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ । दश वर्षका लागि भाडामा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक रु १५ हजार र १० रोपनीको वार्षिक रु १० हजार भाडा बुझाइने छ । आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । छ क्विन्टल आलुको बीउ खरीदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको छ ।

सहकारीमा १० जना पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरुले दैनिक चार घण्टासम्म सामूहिकरुपमा काम गर्ने गरेका छन् । कँडरियाले भने, “सामूहिकरुपमा काम गर्दा सजिलो भएको र सामिप्यतासमेत बढ्ने गरेको छ ।” केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उहाँले सामूहिकरुपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।