समाचार

मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मानः रक्षामन्त्री

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् । आज २९७औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए ।

“नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उनले गरे”, उनले भने, “त्यसैले उनको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।” पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो । रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उहाँले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए ।

उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा राखे । शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार आएर समापन भएको थियो ।