सुदूरपश्चिम

सुदूरपश्चिम सरकारले दियो माघ १ मा सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। कानुन मन्त्री शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको बताए ।

बैठकले विभिन्न विषयसँग सम्बन्धीत पाँच वटा कार्यविधि पनि स्वीकृत गरेको छ। कानुन मन्त्री शाहका अनुसार पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वनका लागि बनेको कार्यविधि, व्यवसायीक सीपमुलक कार्यविधि, वन तथा वातावरण जलाधार व्यवस्थापन कार्यविधि, अनुदान तथा सहायता रकम निकासा सम्बन्धी कार्यविधि र प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाई सञ्चालन कार्यविधि पनि बैठकले स्वीकृत गरेको छ ।

यस्तै प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापन सम्बन्धीको विद्येयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापन सम्बन्धी विद्येयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृती पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले जानकारी दिए ।