समाचार

निकुञ्जमा बाघ बढे, आहारा बढेन

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न पुगेको छ ।

निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरी बाघको सङ्ख्यामा वृद्धि ग¥यो । अब भने निकुञ्जसामु बाघको आहारा वृद्धि गर्ने चुनौती आइपरेको छ । यसका लागि बाघको आहारा हुने जनावरको वृद्धि र संरक्षणमा लाग्नु जरुरी भएको छ । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशत भन्दा बढी क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल र जङ्गल ।

यी क्षेत्रमा घाँसे मैदानको कमी छ । बाघलगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ । प्रतिबाघ १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रफलको सिमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउने पानीका स्रोतसमेत अपर्याप्त छ । बाघले आहारा बनाउने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको संरक्षणकर्मीहरु बताउँछन् । बाघको आहारा जनावरहरु घाँसमा निर्भर हुने हुँदा यस्ता जनावरको संरक्षणका लागि घाँसे मैदानको समेत व्यवस्थापन जरुरी रहेको संरक्षणकर्मी हेमन्तराज काफ्लेले बताए ।

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोग्रामसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छ । पछिल्लो गणनामा भेटिएका २३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, आसपासका वन क्षेत्र र जैविक मार्गमा छन् । बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको सङ्ख्या पनि सोहीअनुसार वृद्धि भएमा आहारा शृंखलामा मद्दत पुग्ने संरक्षणकर्मी काफ्लेले बताए ।

विभिन्न कारणले बासस्थान र आहारामा सङ्कुचन हुँदा दुर्लभ पाटेबाघ सङ्कटमा पर्ने सम्भावना रहने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरीले बताए । उनले भने – “मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ । घाँसे मैदान नभएर आहारा प्रजाति पनि घट्दाको अवस्थामा बाघको बासस्थानलाई संरक्षण गर्नुपर्छ ।” बासस्थान र आहारा प्रजाति बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने चौधरीको ठम्याइ छ ।

उनले भने – “अहिलेको अवस्थामा बाघले आहारा बनाउने जनावरहरुको संरक्षण गर्नु पहिलो दायित्व हो । बाघले वातावरण जोगाउने भएकाले अनावश्यक रूपमा भइरहेको वन विनाश रोक्न जरुरी छ ।” वन विनाशले बाघको बासस्थान सङ्कटमा पार्ने र बाघको आहारा लोप हुने खतरा रहने भएकाले बाघ जोगाउन चुनौती रहेको उनले बताए । बाघको आहारा प्रजातिमा चित्तल, लगुना, बँदेल, रतुवा लगायतका जनावर पर्दछन् ।

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोग्रामसम्म मासु खाने गर्छ जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ । त्यतिकै मात्रामा उसलाई दिनहुँ पिउने पानीको आवश्यकता पर्दछ । निकुञ्जभित्र पानी र आहाराको कमी हुँदा निकुञ्जका बाघ मानव बस्तीे वरपर जान सक्ने खतरा बढ्छ । जङ्गलमा सहजै शिकार नपाउँदा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहने अध्यक्ष चौधरीले बताए ।

मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, नीलगाई, लङ्गुर, बाह्रसिङ्गे, चौका, बाँदर खान रुचाउँछ । तर, बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातिका जनावर र चित्तल धेरै छन् । सन् २०१८ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या २३५ वटा रहेका छन् ।