गण्डकी प्रदेश

स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रु दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले रु दुई करोड छ लाख ६९ हजारको लागतमा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।

मृत सञ्जीवनी निर्माण सेवाले विसं २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले बताए ।

१८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण ढिलाई भएको भट्टचनले बताए । १९ वटा कोठा भएको साढे दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शै्या रहने छुट्टा÷छुट्टै कक्ष छन् ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका थिए । हस्तान्तरण भएपछि यसै हप्ताबाट नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।

यसअघि स्वास्थ्य चौकी राम्चेस्थित वडा कार्यालयको दुई वटा कोठाबाट सञ्चालन हुँदै आएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । लामो समयको प्रतिक्षापछि स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएकोमा राम्चेबासी उत्साहित भएका स्थानीय अगुवा फासबहादुर गर्बुजाले बताए ।