बाग्मती

प्रथम भक्तपुर युवा सम्मेलन हुने

भक्तपुर । युवाका साथसाथ आवाज नेपालले जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्ने भएको छ । राष्ट्रिय युवा परिषद् र भक्तपुरका नगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा यही पुस २७ र २८ गते प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भक्तपुरका सम्पूर्ण वडाबाट प्रतिनिधित्व हुने गरी २०० युवाको सहभागिता रहनेछ । सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन तथा समाज विकासका लागि युवाको भुमिका विषयमा बृहत छलफल र उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिने संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिए ।

पहिलोपटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ शुरु

भक्तपुरमा पहिलो पटक आजबाट ‘राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५’ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरसी, सशस्त्र प्रहरी र काठमाडौँ, कैलाली र नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाड र नेपाल प्रहरीबीच खेल जारी छ । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, नवलपरासी, कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका विभिन्न ठाउँबाट सहभागी भएका खेलाडीबीच १५ खेल सञ्चालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिए ।

सुपर लिग चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्धितीय हुने टिमलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र तृतीय हुने दुई टिमलाई रु १०/१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिए । कूल रु १६ लाख खर्च हुने प्रतियोगितामा देशमै पहिलोपटक प्रत्येक खेलमा म्यान अफ दि म्याचलगायतका खेलाडी घोषणा गरी प्रत्येकलाई नगद रु दुई हजारका दरले रु ६० हजारको पुरस्कार प्रदान गरिनेछ ।

भक्तपुर नगरपालिका–४ खेलकूद समितिले भक्तपुरको शहीद स्मृति खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरे । उनले भक्तपुर नगरपालिकाले खेलकूदको विकासमा टेवा पु¥याउने कार्य गर्दै खेलकूदमैत्री नगरपालिका बनाउन लागिपरेको बताए । कार्यक्रममा कबड्डी सङ्घका केन्द्रीय उपाध्यक्ष सङ्गीता हमाल, वडा नं ४ का वडाध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापतिलगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउँदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताए।