सुदूरपश्चिम

आर्थिक अभावमा एम्बुलेन्स सञ्चालन हुनसकेन

बैतडी । आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा नवीन्द्र ढकालले बताए । “बेलाबेलामा खराबी आउँदा मर्मत गर्न रकम अभाव भएको छ”, प्रमुख ढकालले भने “सरोकारवाला निकायसँग आवश्यक रकमको माग गरेका भए पनि कुनै पहल भएको छैन ।”

मर्मतसम्भारका लागि आवश्यक रकम नपुग्दा पाटन नगरपालिकासँग आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । एम्बुलेन्समा बिरामी बोकेबापत सामान्य भाडा लिने गरेकाले त्यो भाडाको रकमले मर्मतसम्भार गर्न रकम नपुग्ने गरेको बताइएको छ ।

एम्बुलेन्स सञ्चालन समितिले प्रतिकिलोमिटरमा रु ४० का दरले भाडा लिने व्यवस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मतसम्भार गर्न रकम अभाव हुने गरेको हो । एम्बुलेन्स सञ्चालनको जिम्मेवारी नगरपालिकालाई लिन पनि अनुरोध गरिएको छ ।

यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा यहाँका नागरिकले समस्या भोग्दै आएका छन् । कुनै गम्भीर प्रकृतिका बिरामी भएको बेला जिल्ला बाहिरका अस्पताल लैजानु पर्दा निजी सवारी साधनमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको स्थानीय दिनेश विष्टले बताए ।

नगरपालिका प्रमुख केशवबहादुर चन्दले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा नगरपालिकाले आफ्नो जिम्मामा लिने बताए । उनले भने, “एम्बुलेन्सको जिम्मा लिएर नियमित सञ्चालनमा ल्याउँछौँ ।”