समाचार

चितवन पुगेर अध्यक्ष दाहालले भने, ‘अबको १० वर्ष सम्वृद्धिको काम गरेर माथि जान मन छ’

चितवन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दशवर्ष देशको समृद्धि गरेर मात्रै आफु माथि जाने(मर्ने) बताएका छन् ।

अध्यक्ष दाहालले अबको दश वर्ष देशको लागी निकै महत्वपूर्ण रहेको बताउदै देश र जनताको लागी केहि गरेर मात्रै आफु मर्ने बताए । नारायणगढ नारायणी नदी किनारमा आयोजित १२ औँ चितवन महोत्सवको बुधवार उद्घाटन गर्दै दाहालले भने ‘१० वर्ष सम्वृद्धिको काम गरेर माथि जाने विचार छ । सम्वृद्धि जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ । लिबरल ईकोनोमिबाट गरे पनि हुन्छ ।’

चीनका एक नेताले विरालो कालो होस् कि सेतो होस् मुसा मार्नुपर्छ भनेको स्मरण गर्दै अध्यक्ष दाहालले नेपालमा पनि त्यो भनाइ लागू हुने बताए । ‘आजभोलि म के ठान्छु भने विरालो सेतो र कालो केही फरक पर्दैन, यदि विकास र सम्वृद्धिको जनचाहना र इतिहासको आवश्यकतालाई हामीले पूर्ति गर्न नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन’ उनले भने ।

आफूहरूलाई पनि अहिले बिरालो सेतो र कालो जे भए पनि केही मतलब नभएको दाहालले बताए । ‘हुनु पर्‍यो विकास । यदि विकास निर्माण र सम्वृद्धिको जनचाहनालाई र इतिहासको आवश्यकतालाई हामीले पूर्ति गर्न नसक्ने हो भने नेपालमा पनि कम्युनिस्ट पार्टीको केही पनि काम छैन’ दाहालले भने ।

दाहालले चितवनको भैसालोटनदेखि देवघाटसम्म हामीले देख्दादेख्दै पानीजहाज आउने दावी गरे । ‘भैसालोटनदेखि देवघाटसम्म पानीजहाज आउन सम्भव छ । आउँछ, तपाई हामीले हेर्दाहेर्दै आउँछ भन्नेमा म विश्वस्त छु’ उनले भने ।

निजी क्षेत्रको आवश्यकतालाई आफूहरूले अपरिहार्य देखेको हुँदा निजी क्षेत्र पनि विकासमा अग्रसर बन्न अध्यक्ष दाहालले आग्रह गरे ।