खेलकुद

खप्तड गोल्डकप: नेपाल पुलिसको सहज जित

धनगढी । धनगढीमा जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिताअन्तर्गत बुधबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

नेपाल पुलिसले मोरङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । तीर्थ रानाले ह्याट्रिक पूरा गरेसँगै नेपाल पुलिसले मोरङमाथि सहज जित निकालेको हो ।

जितसँगै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ । पुलिसले खेलको शुरुआती समयदेखि मोरङमाथि दबाब बनाएको थियो ।

खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरी तीर्थले पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पैँतीसऔँ मिनेटमा अभिषेक रिजालको उत्कृष्ट ‘मुभ’मा तीर्थले पुलिसको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । दोस्रो हाफको इन्जुरी समयमा अभिषेकको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

बुधबारको खेलमा तीर्थ खेलको म्यान अफ द म्याच घोषित भई रु १० हजार पुरस्कार पाए । पुलिसले अब यही पुस २९ गते हुने क्वाटरफाइनलमा मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । बिहीबारको खेल भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच हुनेछ ।