सुदूरपश्चिम

बालविवाह विरुद्धको अभियानमा किशोरी

बैतडी । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन् । बैतडीमा ५७ वटा किशोरीवृत्त आवद्ध किशोरीले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत्त समूहले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

किशोरी वृत्तको पहलमा एक सय बढी बालविवाह रोकिएको उनले बताए। मागेर हुने बालविवाह रोकिए पनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उनले बताए ।

बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकलाई समेत सिकाउने गरेको किशोरीवृत्तका सहजकर्ताले बताएका छन् । आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताए ।

बालविवाहका कारण किशोरीले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किला तारा किशोरीवृत्त रौलेश्वरका अध्यक्ष द्रोपती विष्टले बताए । बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्षअघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९ दशमलव ५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।