समाचार

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

सुनचरी । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन)उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा आत्मनिर्भर हुने ढोका खुला भएको हो ।

नेपाली सेनाद्वारा सञ्चालित यस प्लान्टका प्रमुख अनुरोध आचार्यका अनुसार विसं २०६० मा स्थापना भएको यस प्लान्टले हाल वार्षिक एक हजार २०० मेक्ट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र भइरहेको हो ।

प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापनाको आवश्यक कार्य अगाडि बढेको बताइन्छ । यसबाट विष्फोटन पदार्थको आवश्यक माग पूरा हुने जनाइएको छ ।

अहिले नयाँ प्लान्टका केही उपकरण जडानसमेत यहाँ भइराखेको छ । नयाँ प्लान्टले उत्पादन शुरु गरेसँगै वार्षिक दुई हजार ४०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुनेछ । नेपाललाई वार्षिकरुपमा दुई हजार ५०० देखि तीन हजार टन विष्फोटन पदार्थ आवश्यक पर्ने बताइन्छ ।

प्लान्टका प्रमुख आचार्यका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

सेनाले हालसम्म २७ वटा सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ ।

निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफँै परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० जना दक्ष प्राविधिक कार्यरत रहेका छन् ।