बाग्मती

काभ्रेपलाञ्चोकमा ऐतिहासिक सम्पदा पुनःनिर्माण सुस्त

काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ। भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए।

पुरातत्व विभागको तथ्याङ्कअनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन्। दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ। विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकासा हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको बताए।

उनले भने, ‘कलात्मक झ्याल, ढोका र थाम बनाउन कालीगढ नपाउँदा निर्माणमा समस्या भएको हो, निर्धारित समयमा निर्माण सक्न मुस्किल छ।’

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सङ्घीय सरकारले गर्दै आएको छ। विभागले केन्द्रीयस्तरबाटै सम्पदा पुनःनिर्माणका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गर्ने गरेको लामाले बताए। ‘जिल्लाका बाँकी सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने।

सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमै निर्माण गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी लीला लामाले बताए। उनले भने, ‘फरक–फरक कालीगढ, निर्माण सामग्री तथा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ।’

हाल नमोबुद्धस्थित बौद्धचैत्य परिसरमा ७४ लाख रुपैयाँको लागतमा दुईतले सत्तल निर्माण भइरहेको छ। क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्ने अवधि अब दुई वर्ष मात्र बाँकी छ।