खेलकुद

लिग च्याम्पियन मनाङ अन्तिम खेलमा फ्रेन्ड्ससंग पराजित

काठमाडौं । लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको लिग चरणको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसंग १-० गोल अन्तरले पराजित भएको हो । पाएको मौका सदुपयोग गर्न नसक्दा मनाङले फ्रेन्ड्ससंग अप्रत्यासित हार व्यहोरेको हो । फ्रेन्ड्सको जितमा विकास लामाले निर्णायक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा विकासले हेड गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए ।

लिगको अन्तिम खेलमा फ्रेन्ड्ससंग पराजित भएसंगै मनाङको अपराजित रहेर लिग जित्ने योजना अधुरो नै बनेको छ । अघिल्ला १३ खेलमा लगातार जित निकालेको मनाङ अन्तिम खेलमा भने पराजित भएको हो ।

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितेको थियो । मनाङले ुएु डिभिजन लिगमा कीर्तिमानी आठौं पटक उपाधि जितेको हो ।

उपाधिसंगै मनाङले ५० लाख नगद पुरस्कार पाएको छ । यस्तै मनाङले एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेता बनेको संकटाले ३५ लाख तथा तेस्रो स्थानको रुस्लान थ्री स्टारले २५ लाख प्राप्त गर्यो ।

च्याम्पियन मनाङले लिगको १३ खेलबाट ३३ अंक जोड्न सफल भयो । अन्तिम खेलमा मनाङलाई हराएसंगै फ्रेन्ड्सले १२ अंक जोड्न सफल रह्यो ।
फ्रेन्ड्सले भने, लिगको ११ औं स्थानमा रहेर लिग सकाएको छ ।