मनोरञ्जन

मिस नवलपरासी–२ को उपाधि दीक्षालाई

परासी । पश्चिम नवलपरासीमा सञ्चालन गरिएको मिस नवलपरासी स्टार सिजन–२ को उपाधि सुनवलकी दीक्षा सुनारले जितेकी छन् । ‘पिच बुलम’ नामक संस्थाले आयोजना गरेको सो प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै रमवापुरकी १८ वर्षीया सुनारले उक्त उपाधि जितेकी हुन् । उनी अहिले कक्षा १२ मा अध्ययनरत छन् । स्टार सिजन १ की विजेता प्रनिशा श्रेष्ठले सिजन २ की विजेता दीक्षालाई ताज पहिराए । विजयी दीक्षाले यस प्रतियोगिताले नेतृत्व र आत्मविश्वास बढेको भन्दै मोडलिङ र समाजसेवामार्फत राष्ट्रका लागि योगदान गर्ने प्रतिक्रिया दिएकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप सुनवल रमवापुरकै १८ वर्षीया निशा सुनार, सेकेण्ड रनरअप सुनवल आसामवासीकी रश्मी तिमिल्सिना, भिवर च्वाइस भूमहीकी १७ वर्षीया सुरक्षा पराजुली, अर्गनाइजर च्वाइस परासीकी १९ वर्षीया वर्षा कार्की क्षेत्री, मिस फोटोजेनिक सुनवल हर्दियाकी २६ वर्षीया रुपा गुरुङ, मोस्ट डिसिपिलिन बर्दघाटकी १७ वर्षीया सभ्यता नेपाली र मोस्ट डाइनामिक बडेराकी १९ वर्षीय निलम सापकोटाले हात पार्न सफल भएका आयोजक संस्थाका संयोजक देव रानाले जानकारी दिए ।

गत मङ्सिर १६ देखि १८ गतेसम्म जिल्लाका सुनवल, बर्दघाट र परासीमा अडिसन गरी आठ जनालाई अन्तिम प्रतिस्पर्धामा छनोट गरिएको थियो । प्रतियोेगिताको प्रमुख निर्णायकमा दुर्गा गुरुङ रहेकी थिईन् ।