बाग्मती

काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो ।

उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए । कतियप मजदूरी गरेर सडकमा सुत्ने, लागुपदार्थ खाएर र मदिरा पिएर सडकमा बस्ने तथा सडकमा माग्ने पेसा गरेर बस्ने थिए । उनीहरुलाई बूढानीलकण्ठस्थित आश्रममा राखिएको आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनीहरुमध्ये परिवारमा बस्न सक्नेलाई परिवारको जिम्मा लगाएर पठाइने तथा असहाय, असक्तलाई संरक्षण गरेर आश्रममा नै राखिने बताइएको छ । काठमाडौँको महाँकाल, सङ्कटा, भद्रकाली र नक्साल महादेव मन्दिर, पशुपति क्षेत्र, गौशाला, चाबहिल, बौद्ध, बानेश्वरलगायत क्षेत्रबाट उनीहरुको उद्धार गरिएको हो । उनीहरु सहित आश्रममा १३५ पुगेको जनाइएको छ ।

सडक सेवाअन्तर्गत सोमबार भएको खोजी तथा उद्धार अभियानमा आश्रमका प्रतिनिधि, कोषका सदस्य सचिव डा प्रदीप ढकाल र प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुली, महानगरपालिका कानून शाखाका निर्देशक वसन्त आचार्य, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामा, श्रीकृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष नमराज ढकाल, पूर्वसचिव सुरेशमान श्रेष्ठ, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ, कविर आश्रम बानेश्वरका प्रमुख आदर्श सायद र आश्रमका अभिभावक सुरेन्द्र रिमाललगायतको सहभागिता थियो ।

कोषका सदस्य सचिव डा ढकालले पछिल्लो समयमा सडकमा असहाय र असक्त घट्दै गए पनि माग्ने पेशा बनाएर हिँड्ने, मदिरा पिएर र मजदूरी गरेर सडकमै सुत्ने अवस्था चुनौतीपूर्ण बनेकाले यसको व्यवस्थापन जरुरी रहेको बताए । प्रहरी परिसर काठमाडौँका प्रमुख लामाले चिसो सिँढीमा बस्ने अवस्थाको अन्त्यका लागि प्रहरी सहकार्य गर्न तयार रहेको बताउनुभयो । यसअघि परिसरको पहलमा काठमाडौँका विभिन्न क्षेत्रबाट १५ को उद्धार गरिएकोमा वास्तविकता अध्ययन गरेर अभिभावक ल्याई सडकमा छाडेर पैसा कमाउने उद्देश्य बोकेकालाई कारवाही गर्ने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

आश्रमले २०६९ सालदेखि नै सडकका असहाय, मागेर खान नसक्ने, मनोरोगी र असक्तलाई उद्धार गरी पालनपोषण गरी मनोविमर्स सेवा दिएर परिवारमा पुनःस्थापन गर्दै आएको छ । विसं २०८२ सम्ममा यस्ता असहाय, असक्त सडकमा रहने अवस्थाको अन्त्य गर्ने अभियान छ । त्यसको लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । बाह्र जिल्लामा आश्रम सञ्चालन गरेर सेवा दिँदै आएको र अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकोमा ५०० लाई परिवारमा पुनःस्थापन गरिसकेको अधिकारीले बताए ।