पर्यटन/संस्कृति

माघ १ गते पाँचौँ तारेभिर महोत्सव

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो ।

यस वर्ष पनि माघ १ गते महोत्सव गर्न लागिएको साविकको बालुवा गाविसका पूर्वअध्यक्ष उद्धव विष्टले बताउनुभयो । महोत्वसमा स्थानीयवासीका साथै नजिकको जिल्लाबाट समेत पर्यटक आउने जनाइएको छ । त्यस अवसरमा यहाँका मौलिक संस्कृतिको प्रदर्शन गरिनेछ ।

जनप्रतिनिधि, स्थानीय तह र स्थानीयवासीको सहकार्यमा शुरु भएको महोत्सवकै कारण तारेभिर आन्तरिकका साथै बाह्य पर्यटकको गन्तव्य बन्न थालेको महोत्सव आयोजक समितिका सहसंयोजक हर्क तामाङले बताए । पर्यटक आउन थालेपछि स्थनीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाएका छन् । पर्यटन प्रवद्र्धनका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य छ ।

वडा नं ३ का अध्यक्ष राजेन्द्रकुमार भण्डारी महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने बताए । यसका लागि वडाले साथ दिएको उनको भनाइ छ । प्राकृतिक सौन्दर्यले मोहित बनाउने स्थलको खोजीमा रहेका राजधानीवासीलाई तारेभिर पदमार्गका लागिसमेत उपयुक्त गन्तव्य बन्न सक्छ ।

नगरपालिकाले जगडोल–तारेभिर–सुन्दरीजललाई जोडेर पदमार्गको विकास गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने कार्यक्रम बनाएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए । यो स्थलमा केबलकार बनाउन शुरु भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँल तारेभिरलाई ‘रक क्लाइम्बिङ’ का माध्यमबाट पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताए। चट्टानको पहाडको रूपमा रहेको तारेभिरलाई ‘रक क्लाइम्बिङ’ स्थलका रूपमा विकास गर्नसके आन्तरिक र बाह्य दुवै थरी पर्यटकको भीड लाग्ने उनको भनाइ छ ।

तारेभिर क्षेत्रमा भूमेश्वर र तारेभिर महादेवको शिला छ । पानी नपरी सुक्खा लागेका बेला दुवै महादेवस्थानमा पूजा गरेपछि वर्षा हुने गरेको स्थानीयवासी एवं महोत्सव आयोजक समितिका सहसंयोजक तामाङले सुनाए।

परापूर्वकालमा तारेभिरमा गुफा थियो । गुफामा भगवान् महादेव बस्नुहुन्थ्यो । विवाह, व्रतबन्धजस्ता धार्मिक कृत्यमा भाँडाकुँडालगायत सामग्री आवश्यक पर्दा गुफामा गएर माग्दा पाइन्थ्यो । धार्मिक कार्यक्रम सकिएपछि माग्नेले भाँडा माझेर गुफामै लगेर राख्ने गर्थे । एक जनाले भाँडा नमाझी राखिदिँदा गुफा बन्द भई भाँडा पाउन छोडेको किंवदन्ती यहाँका स्थानीयवासीमा प्रचलित छ ।