बाग्मती

न्यायिक समितिको अभ्यास शुरु

चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले इजलासको न्यायिक अभ्यास सोमबारबाट शुरु गरेको छ । महानगरले पहिलो अभ्यासस्वरूप न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको छ । सेन्टरले बिना जानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको थियो ।

सेन्टरका सञ्चालक रामप्रसाद सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ गर्दै इजलासले लक्की ज्वयलर्सको नाममा मुद्दाको किनारा नलागेसम्म पसल सञ्चालन गर्न दिनु र ३० दिनभित्र मेलमिलाप गर्नु भनी अन्तरिम आदेशसमेत जारी गरेको छ ।

महानगर उपप्रमुख पार्वती शाहको संयोजकत्वमा रहेको न्यायिक समितिले पहिलो अभ्यासस्वरूप हेरिएको सो मुद्दामा वादीको तर्फबाट अधिवक्ता भूपेन्द्रजङ्ग थापा र प्रतिवादीको तर्फबाट कमलराज पाठकले बहस गर्नुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिले अभ्यास शुरु गरेको हो ।

सापकोटाले आफूले सम्झौताअनुसार पसल सञ्चालन गर्न नपाएको भन्दै उजुरी दिएका थिए। महानगरले भरतपुर महानगरपालिका न्यायिक समिति (कार्यविधिसम्बन्धी ऐन, २०७५)कार्यन्वयनमा आएसँगै सात वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । ऐन गत असारमा पारित भई स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । समितिमा परेका उजुरी घरबहाल र मानो चामलको विषयमा रहेको कानूनी सल्लाहाकार खगेश्वर अधिकारीले बताए ।