शिक्षा

पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ ।

यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेको हो । उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो । अहिलेसम्ममा सो पुस्तक दुई हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए ।

त्यसैगरी विश्वका प्रमुख धर्म नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ । उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको छ । यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । प्रतिष्ठानको कार्यालय परिसरमा जारी प्रदर्शनी यही पुस २९ गतेसम्म चल्ने छ । मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको छ । मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन् ।

विसं २०६८ देखि ०७५ सम्ममा प्रकाशित पुस्तकमा १५ र त्यसअघिका पुस्तकमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा पुराना लेखकहरु सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लिलबहादुर क्षेत्रीलगायत र पछिल्ला समयका जीवेन्द्रदेव गिरी, विणा पौडेल, हरिप्रसाद पौडेल, गोविन्दराज भट्टराईले लेख्नुभएको पुस्तक रहेको छ । दैनिक सय पाठक प्रदर्शनीमा आउने गरेको बताइएको छ ।