प्रदेश 1

चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

पशुपतिनगर । इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो ।

स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९÷७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९÷७० मा पहिरो नियन्त्रणका लागि रु ३५ लाख, आर्थिक वर्ष २०७०÷७१ मा रु २२ लाख र आर्थिक वर्ष २०७१÷७२ मा रु १९ लाख ६७ लाख खर्चिएको थियो ।

पहिरो नियन्त्रणको काम पूरा भएपछि अहिले पहिरो क्षेत्रमा हरियाली छाएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । पहिरो शुरु भएको क्षेत्रबाट तारजाली लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँस रोपिएको लगायतको वृक्षरोपण गरिएको थियो ।

विसं २०२५ को भदौ, असोज र कात्तिक महीनामा आएको अबिरल वर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो । पहिरो नियन्त्रण बाहिर गएपछि साङ्रुम्बा क्षेत्रमा ३०० बढी परिवार विस्थापित भएको स्थानीय धमप्रसाद जबेगुले बताए ।

विसं २०२५ मा २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए । पुवाखोलाबाट शुरु भएको पहिरोको लम्बाइ एक हजार ५०० मिटर र चौडा ९०० मिटर लामो रहेको स्थानीयवासी रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादूर राईले बताए । स्थानीयवासीको हरेक वर्ष विस्थापित हुनुपर्ने र खेतीयोग्य जमीन बनाउने क्रम पहिरोबाट बढेपछि २०२५ देखि नै नियन्त्रणका लागि सरकारलाई माग गरिँदै आएको थियो ।

‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणको कार्यक्रम शुरु भएको वर्ष केही मात्रामा पहिरो बगे पनि अहिले पूर्णरुपमा नियन्त्रणमा आएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । २०११ सालबाट शुरु भएको पहिरोेका कारण तत्कालीन साङ्रुम्बा गाविसको पाँचवटा वडाका बासिन्दा जोखिममा परी हरेक वर्ष विस्थापित हुँदै आएका थिए ।