अन्तर्राष्ट्रिय

मलेसियामा नयाँ राजा यही महिना चयन हुने

क्वालालम्पुर । मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उनको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् ।

मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ । पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहुँदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो ।

रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उनले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ । मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए । राजा सुल्तानले दुई बर्ष अगाडी राजगद्दी सम्हाल्नु भएको थियो । राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन ।

राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ ।” नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन् । नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाई छ ।
नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ ।

समारोहमा उनलाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौ अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुनेछन् । मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ । उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन् । मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ ।