खेलकुद

ए डिभिजन लिग: अन्तिम दिन आज दुई खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंगलबार सकिँदैछ। झण्डै साढे तीन महिनादेखि जारी खेलको अन्तिम दिन दुई खेल हुँदैछन्।

दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि विजेता मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उपाधि जितिसके पनि सबै खेल जितेर कीर्तिमान कायम गर्न मनाङका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

मनाङले यसअघि खेलेका १२ वटै खेल जितेको छ। अंकतालिकाको १२ औं स्थानमा रहेको फ्रेण्ड्स क्लबलाई हारजितले खासै अर्थ नराखे पनि मनाङलाई इतिहास रच्नबाट रोक्ने उसको प्रमुख लक्ष्य हुनेछ। दिउँसो २ बजे सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा हुने खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुच्छारमा रहेको एनआरटीले खेल जिते दुई स्थानसम्म माथि उक्लन सक्नेछ भने एघारौं स्थानमा रहेको ब्रिगेड ब्वाइजका लागि नतिजाले खासै असर गर्दैन। असोज १३ गतेदेखि सुरु भएको लिगको बिजेता मनाङले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

उपविजेता संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख र पाँचौँ स्थान सुरक्षित गरेको एपीएफले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १४ वटा टोलीले भाग लिएका थिए।