समाचार

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त, अनुसन्धान प्रमुख रेग्मी पनि हटाइए

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।

राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।

यस्तै मन्त्रस्परिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मीलाई पनि जिम्मेवारीबाट हटाएको छ। विभागको नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त भएका छन्। अधिकारीले सोमबार राती नै बरफबाग स्थित कार्यालयमा पदभारग्रहण गरे।

रेग्मीको जेठ १५ सम्म म्याद थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका लागि नयाँ कानून बनाएसँगै उनी हटेका हुन्।नयाँ नियम अनुसार विभागका प्रमुखको पदावधि चारबाट तीन वर्षमा झारिएको छ।

राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो। पहिले गृह मन्त्रालय अन्तरगत रहेको विभागलाई केपी ओलीको नेतृत्वमा वाम गठबन्धन सरकार बनेपछि प्रधानमन्त्री मातहत ल्याइएको हो।

देशभित्र र बाहिर रहेका नेपाली दुतावासमा गरी विभागका २३ सय अधिकारी कार्यरत छन्।