खेलकुद

बार्सिलोनाको जितमा मेस्सीको उत्कृष्ट प्रदर्शन,पाँच अंकको अग्रता

काठमाण्डौ । स्पेनिस ला लिगामा बार्सिलोनाले जित दर्ता गराएको छ । गएराति भएको खेलमा गेटाफेलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको तालिकामा पाँच अंकको अग्रता लिएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको हो ।

बार्सिलोनालाई जीत दिलाउनका लागि लुइस स्वारेज र लियोनल मेस्सीले एक एक गोलको योगदान गरेका थिए । २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा स्वारेजको डि–बक्स बाहिरबाट उत्कृष्ट भली गोलमा परिणत भएपछि बार्सिलोनाले २–० को अग्रता लिएको थियो । ४३औं मिनेटमा गेटाफेले गोल फर्कायो । गेटाफेका लागि जेमी माटाले गोल गरेका थिए ।

दोस्रो हाफमा गोल हुन नसक्दा बार्सिलोनाले २–१ को जीत हात पा¥यो । जीतसँगै १८ खेलबाट बार्सिलोना ४० अंक बनाउँदै तालिकामा पाँच अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ अंक छ । गेटाफे भने २५ अंक सहित सातौं स्थानमा छ । सेभिल्ला ३३ अंक सहित तेस्रो स्थानमा रहेको छ ।