खेलकुद

जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको सम्पूर्ण तयारी पुरा

काठमाण्डौ । मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुने प्रथम राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

बिराटनगर, सहिद रङ्गशालास्थित कभर्डहलमा हुने प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरु बिराटनगर आई पुगिसकेको प्रतियोगिता निर्देशक मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी गराए ।

२ लाख ५० हजार बराबरको पुरस्कार रासी रहेको प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । करिव २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

उपत्यका देखि बाहिर पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता भएका कारण सोचे अनुरुप बिदेशी खेलाडीहरुको सहभागिता नरहेता पनि आगामी दिनमा खेलाडीहरुको संख्यामा बृद्धि हुनुका साथै प्रतियोगिताका कारण यस क्षेत्रमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा अझ बढि बल पुग्नेमा आफु बिश्वस्त रहेको प्रतियोगिता निर्देशक श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको भन्दै प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बिराटनगर आईपुगेको पनि बताए । यस अन्तराष्ट्रिय प्रतियोगिताले अन्य क्षेत्रमा पनि ब्याडमिन्टन खेलको पूर्वाधारमा सहयोग पुग्नुका साथै अन्य क्षेत्रलाई पनि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न बल पुग्ने श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन पौष २४ गते प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गर्नु हुने कार्यक्रम रहेको छ ।

नेपाली खेलाडीहरु पनि उक्त प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका कारण उत्साहित भएका छन् । कतिपय खेलाडीहरुले अन्तराष्ट्रिय एक्सपोजर पाउने भएका कारण आफुहरु उत्साहित भएको बताए । हामीहरुले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन कठिनाई हुन्छ आफ्नै देशमा यस्ता प्रतियोगिताहरु आयोजना भएमा अन्तराष्ट्रिय खेलाडीहरु संग प्रतिस्पर्धा गर्न पाउनाले आफ्नो खेल कौशलतालाई बृद्धि गर्न सकिन्छ – प्रतियोगितामा सहभागी एक खेलाडीले बताए ।