बाग्मती

जग्गा विवाद छिट्टै समाधान हुने, अस्पताल र संस्थानबीचको सहमति

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र गुठी संस्थानबीचको जग्गा विवाद अब छिट्टै समाधान हुने भएको छ । हाल अस्पताल रहेको स्थानको जग्गा संस्थानले आफ्नो रहेको दाबी गर्दै आएको छ । भूमिसुधार, सहकारी तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल आँखा अस्पतालको स्तरोन्नति गरिएको भवनको आज उद्घाटन गर्दै अस्पताल र संस्थानबीचको आपसी सहमतिमा छिटो जग्गा विवाद समाधान हुने जानकारी दिए ।

उनले सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै ग्रामीण क्षेत्रमा अस्पतालको सेवा विस्तार गर्न आग्रहसमेत गरे । क्यानडास्थित अपरेशन आइसाइट युनिभर्सल संस्थाको रु ७० लाखको आर्थिक सहयोगमा अस्पतालको भवन स्तरोन्नति गरिएको थियो ।

अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले नेपालको पहिलो आँखा अस्पताल रहेको जग्गा समस्या समाधान गरिदिन आग्रह गर्दै अस्पतालको सेवा विस्तार भैइराखेको जानकारी दिए । हाल अस्पतालले थानकोट, टोखा, खोकना र साँखुबाट समेत आँखा सेवा प्रदान गरिराखेको छ ।