शिक्षा

त्रिभूवन विश्व बिद्यालयद्वारा स्ववियु निर्वाचनको तयारी, निर्बाचनमा सकृय हुन आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए । उनका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएको छ । परिपत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले पूर्वतयारी गर्न/गराउन भनिएको छ ।

‘‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेटी देशभरका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्नेछौँ,’’ उनले भने, ‘‘निर्वाचनको मिति तोकिसकेपछि र निर्वाचनको कार्यतालिका निकाल्नुभन्दा अघि विद्यार्थी सङ्गठनसँग छलफल गर्नेछौँ ।’’ उनले त्रिवि कार्यकारी परिषद्को बैठकले चाँडै नै स्ववियु निर्वाचनको मिति तोक्ने जानकारी गराए ।

गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो । उनले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी सङ्घ–सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताए । गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो ।

त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका (क्रान्तिकारी(का अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिविको तयारीलाई स्वागतयोग्य बताएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले निर्वाचनको प्रणालीबारे कुनै विवाद नभएकाले आफ्नो सङ्गठनले निर्वाचनमा सहभागिता जनाउने बताए । अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनमा कुनै विवाद नरहेकाले त्रिविलाई निर्धारित मितिमा नै निर्वाचन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।