समाचार

महालक्ष्मी नगरपालिकाका तीन हजार ८० लाभग्राहीको घर बनेन

ललितपुर । महालक्ष्मी नगरपालिकाका भूकम्पपीडितमध्ये तीन हजार ८० जनाको घर अझै बनिसकेको छैन । कतिपयको अनुदान सम्झौता नै हुन बाँकी रहेको छ भने कतिको पहिलो किस्ता लिएर पनि बनाउन शुरु नगर्दा र कतिको नक्सापास हुन बाँकी रहेको छ । घर निर्माण सकेर तेस्रो किस्ता लिनेको सङ्ख्या ५७७ जना मात्रै छ ।

नगरपालिकामा रहेका जम्मा लाभग्राहीमध्ये १५ दशमलव छ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ६९० रहेको छ । नगरपालिकामा जम्मा लाभग्राही सङ्ख्या तीन हजार ६५७ रहेका छन् । तीमध्ये दुई हजार ८५४ सँग अनुदान सम्झौता भएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए ।

आठ सय ३० जना लाभग्राहीसँग अनुदान सम्झौता हुन नै बाँकी छ । पहिले प्राविधिकले जाँच गर्दा छुटेकालाई नगरपालिकाले लाभग्राही सूचीमा पार्न सिफारिस गरिरहे पनि कार्यान्वयन भएको छैन । उनले भने, “भूकम्प गएको यतिका समय बित्दा पनि उनीहरु पालमुनि नै छन् र घर बनाउन सम्झौता अझै हुन सकेको छैन ।”

मुलुक सङ्घीयतामा गइसक्दा पनि पुनःनिर्माण विकेन्द्रीकृत हुन नसक्दा ढिलाइ भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । अनुदानको किस्ता पाउनका लागि लाभग्राही धेरै वटा कार्यालयमा धाउनुपर्ने बाध्यता छ ।

सरकारले दिने अनुदान रकम कम हुने र बैङ्कबाट सहजरुपमा ऋण नपाउँदा धेरेले घर निर्माण गर्न ढिलाइ गरेका छन् । कतिका आफ्ना नाममा जग्गा नहुने त कतिको संयुक्त घरले गर्दा निजी घर बन्न ढिलाइ भइरहेको छ । उनले भने, “धेरै खालका समस्यामा नीतिगत निर्णय गर्दा मात्रै घर निर्माण अघि बढ्न सक्छ ।”