समाचार

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रजग कोरिया, चीन, साउदी अरेबिया र स्वेडेनका राजदूत क्रमशः जो योङ म्यान, हउ याङ्की, मुसादबिन सुलेमान एम अलमाउने र क्लास मोलिनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

नेपालका लागि प्रजग कोरिया, चीन र साउदी अरेबियाका राजदूत आवासीय कूटनीतिज्ञ हुनुहुन्छ भने स्वेडेनका राजदूत गैरआवासीय छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए । त्यसअघि राजदूतहरुलाई विशेष सम्मानका साथ स्थानीय साङ्ग्रिला होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा सवार गराइएको थियो ।