लुम्बिनी

नेपालगञ्जमा दुई आकाशे पुल बनाउने तयारी

नेपालगञ्ज । दुई अति व्यस्त चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । “यहाँको अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर) बनाउन थालिएको हो”—नगर प्रमुख डा धवलशम्शेर राणाले भने ।

विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा यी दुई चोकमा र दोस्रोचरणमा नेपालगञ्जको गणेशमान चोक, पुष्पलाल चोकमा आकाशे पुल निर्माण गर्ने योजना नगरपालिकाले बनाइरहेको उनले बताए । तीन वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि बसाइसराइ र सवारी साधनको वृद्धिले नेपालगञ्जमा अहिले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । एशियाली विकास बैंकको झण्डै रु चार अर्बको आर्थिक ऋण अनुदान सहयोगमा नेपालगञ्जमा ६० किलोमिटर कालोपत्र सडक विस्तार गरिएको छ ।

“सडक विस्तारपछि नेपालगञ्जमा नयाँनयाँ उद्योग, प्रतिष्ठानको स्थापना, ठूलाठूला सपिङ कम्प्लेक्स निर्माण, सार्वजनिक सवारी साधनको वृद्धिले ट्राफिक चुनौती थपिएको छ”, बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले भने ।

आकाशे पुल निर्माणका साथै नेपालगञ्जमा ट्राफिक प्रविधिको जडान, सार्वजनिक स्थलमा सवारी पार्किङको व्यवस्था, झण्डै १० हजारको हाराहारीमा रहेको अटोरिक्सा व्यवस्थापनको चुनौती पनि नेपालगञ्ज नगरपालिकालाई थपिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएको डेढ वर्षको अवधिमा नेपालगञ्जको विकासले ठूलै फड्को मारेको छ । नगरको वडावडामा सडक कालोपत्र, साना ठूला नाला निर्माण, रानी तलाउको जीर्णोद्धार गरी नौकाबिहार सञ्चालन, बाल उद्यानको निर्माण लगायतका थुप्रै विकासका काम सम्पन्न भएका छन् भने थुप्रै योजना पनि बन्दै छन् ।