अन्तर्राष्ट्रिय

व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद अन्त्य गर्न सम्झौता हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्वकै अर्थतन्त्रमा अस्थिरता ल्याउने सम्भावना रहेका चीन र अमेरिका दुबैले एकअर्का देशका ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।

“मेरो विचारमा हामीले चीनसँग नयाँ व्यापार सम्झौता गर्नेछौं,” राष्ट्रपति ट्रम्पले शुक्रबार भनेका छन् । “राष्ट्रपति सी जिनपिङ पनि व्यापार सम्झौताप्रति प्रतिबद्ध हुनुहुन्छ, र म पनि छु ।” बेइजिङ आइपुगेको अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी अर्थ, बाणिज्य, कृषि र ऊर्जा मन्त्रालयका अधिकारीहरु पनि सहभागी छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच तीन महिने युद्धविराम गर्ने सहमति भएसँगै वार्ताको प्रक्रिया शुरु भएको हो । अमेरिकी व्यापार प्रतिनिधिमण्डल चीन आएसँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।