समाचार

आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

राँझा । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

गाउँपालिकाको ३० प्रतिशत र महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम शुरु गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले फुसको छाना हटेसँगै नरैनापुरमा आगलागीका घटनामा कमी हुने बताए ।