गण्डकी प्रदेश

नगरकै पहिलो सडक कालोपत्रे सम्पन्न

पर्वत । पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा–झकलक–कुर्घा–लुङ्खु सडकको मुडिकुला–लमायखोला सडकखण्ड कालोपत्रे भएको छ ।

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपी)ले फलेवास नगरपालिका–४ मुडिकुवादेखि फलेवास नगरपालिका–५ मा पर्ने लमायखोलासम्म सात किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडिपीमार्फत कालोपत्रे भएको यो सडक नै फलेवास नगरपालिकाभित्र कै पहिलो कालोपत्रे सडक हो ।

मुडिकुवा–लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने भए पनि डेढ वर्ष ढिलो गरी कालोपत्रे भएको हो । कालोपत्रेको सबै काम सकिएको र भत्किएका नाली मर्मतको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना व्यवस्थापक जगदिश शर्माले जानकारी दिए ।

फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको सात किमी खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इञ्जिनीयरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो । मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडावासीलाई प्रत्यक्ष लाभ पुग्छ ।

सिँचाइका योजना धमाधम सम्झौता

जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइका योजना धमाधम सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेशअन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतद्वारा चालू आर्थिक वर्षका लागि तोकिएका योजना धमाधम सम्झौता भई कामसमेत शुरु हुन लागेका हुन् । प्रदेश सरकारअन्तर्गत सिँचाइका नौ वटा योजनामध्ये पाँच वटा सम्झौता भइसकेका छन् भने तीनवटाको सर्भेक्षण सम्पन्न भई लागत अनुमान तयारीमा रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै एउटा योजनाको सर्भेक्षण शुरु गरिएको छ । प्रदेश सरकारअन्तर्गतकै नदी नियन्त्रणतर्फ सात वटा योजना रहेकोमा चार वटा सम्झौता भइसकेका छन् । दुई वटाको लागत अनुमान तयार हुँदै गरेको र एउटा योजनाको सर्भेक्षण शुरु गरिएको कार्यालय प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।

पर्वतमा झण्डै सात हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चालू आवमा सञ्चालित योजना पूरा भएपछि करीब २०० हेक्टर थप जमीनमा सिँचाइको सुविधा पुग्ने कार्यालयको अनुमान रहेको छ ।