समाचार

प्रधानमन्त्रीको संसद छल्ने प्रयास लोकतन्त्र विरोधी होः काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख कृष्ण बहादुर महरा संसदप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नमा काँग्रेस सांसदहरुले प्रतितप्रश्न गर्न पाउनुपर्ने माग बेवास्ता गर्दै सभामुख महराले रोकलगाएपछि   कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गर्दै संसद अबरुद्ध गर्दै नारबाजी समेत गरेका थिए ।

संसद भवन परिसरमा संचारकर्मीसंग कुरा गर्दै सांसद रिजालले भने, ‘संसदको अनुहार सभामुखमा देखिने हो तर सभामुख संसदप्रति जिम्मेवार देखिनु भएन ।’ ‘नियमावली २१९ को प्रक्रिया प्रारम्भ भयो त्यहाँ प्रश्न गर्न पाइन्छ हामीले सभामुखकै विवेकले प्रश्न गर्न पाउनु पर्ने हो’ सांसद रिजालले भने,‘तर उहाँले संसदप्रति उत्तरदायित्व देखाउनु भएन।’

सांसद रिजालले प्रधानमन्त्री ओलीले संसद छल्ने प्रयास गरेको र त्यसमा सभामुखले साथ दिएको आरोपसमेत लगाए ।

‘प्रधानमन्त्रीले संसद छल्ने प्रयास लोकतन्त्र विरोधी हो। संसदमा उठेको प्रश्नको जवाफ नदिने हो भने बालुवाटारमा सम्बोधन गरे भैगो नि, टिभीमा अन्तर्वार्ता दिए भइगो नि, संसदमा किन बोल्नु पर्‍यो,’ रिजालले भने ।

कांग्रेस सांसदले सभामुख महरासंग प्रधानमन्त्रीलाई प्रश्न गर्नका लागी समय माग गरेका थिए । तर सभामुखले भने समय दिन अस्वीकार गरेका थिए ।