राजनीति

गगन थापाले भने, ‘सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजे’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कारबाही अघि बढन नदिने चेतावनी दिएका छन् ।

सांसद थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कार्वाही अघि बढन नदिने बताए ।

प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली कांग्रेसका सांसदहरूले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए। तर सभामुख महराले अनुमति नदिएको भन्दै कांग्रेस सांसदहरूले रोष्टम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

सदन स्थगित भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोस पनि व्यक्त गरे।

उनले सभामुखले एकलौटीरुपमा अघि बढने गरेको भन्दै असन्तुष्टि जनाए । ‘प्रधानमन्त्री ज्यूलाई प्रश्न गर्न नदिनु संविधान विपरित हो,थापाले भने,’ ‘सभामुखको यो हुकुमी शासन हामी मान्दैनौ, यो तुरुन्त सच्याए अगाडी बढनु पर्छ ।’थापाले आगामी दिनमा सभामुखले सच्चिएर अगाडी नबढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाऊ गरेको आरोप पनि लगाए। सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति समेत जनाए।