राजनीति

बरिष्ठ नेता पौडेलको निर्देशनः देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म काङ्ग्रेस भनेर लाग्नुस्

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उहाँको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आज आयोजना शोकसभालाई सम्बोधन गर्दै नेता पौडेलले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताए ।

महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उनले भने, “अब म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्ने उनले बताए ।

पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उनले भने, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उनले भने, “माथिल्लो तहमा हामी मिल्यौं तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”

मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उनको दावी थियो । सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत रहनुभएका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षेती पुगेको बताए ।

अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोलेका थिए ।

यस अघि आजै पौडेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार प्रबिण पौडेलको रत्ननगरमा रहेको निवासमा पुगेर समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शोकसभामा उहाँले कार्यक्षेत्रमा रहँदा एक पत्रकारले ज्यान गुमाउनु परेको सुन्दा आफूलाई दुःख लागेको बताए । एपि वानमा कार्यरत पौडेलको यही पुस १३ गते रत्ननगरमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।