बाग्मती

लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति

काठमाडौँ । समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न र अपराध अनुसन्धानमा सरोकार भएका निकायसँग आज छलफल गरी सो समिति गठन गरिएको हो ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सरोकार पक्षसँग समन्वय र सहकार्य अभिवृद्धि गर्ने र समाजमा शान्ति कायम गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्वीकृत भई आएको निर्देशिकाबमोजिम समिति गठन गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले समाजमा लैङ्गिक हिंसा बढ्दै गएकाले घटना भएपछि अनुसन्धान गर्नुभन्दा घटना हुन नदिने सावधान अपनाउन गरी समुदायमा प्रहरी कार्यक्रम शुरु गरेको बताए। समुदायसँग प्रहरी कार्यक्रमअन्तर्गत सडकमा बेवारिसे रुपमा बसेका २१ मानिसलाई उद्धार गरी विभिन्न आश्रममा राख्ने गरिएको छ ।