लुम्बिनी

जखेरा तालमा माछापालन

दाङ । लमही नगरपालिका–५ मा पर्ने जखेरा तालमा व्यावसायिक रुपमा माछापालन गरिएको छ । आम्दानी बढाउन र ताल अवलोकन गर्न आउने पर्यटकलाई आकर्षित गर्न माछापालन गरिएको ताल संरक्षण समितिले जनाएको छ ।

समितिका कर्मचारी ओमभगत चौधरीले छ बिगाहा क्षेत्रफलमा फैलिएको सो तालमा गतवर्षको मङ्सिरमा एक लाख २५ हजार माछाका भुरा खरीद गरी व्यावसायिक रुपमा पालन शुरु गरिएको हो ।

संरक्षण समितिले आफै रु एक लाख २८ हजार खर्च गरेर लमही माछा एक माछा व्यवसायीसँग माछाका भुरा ल्याई पालन गरेको जनाएको छ । गतवर्ष सो तालमा माछाका भुरा राखेर शुरु गरिएको हो । उनले अहिले ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक तालमा पालन गरिएका माछाको दृष्य देखेर लोभिने गरेको बताए । सो तालमा गरिएको माछापालन हेर्न आउनेको सङ्ख्या दिनहुँ बढ्दो रहेको समितिले जनाएको छ ।

समितिका उपाध्यक्ष रामसिंह केसीले जखेराको आयआर्जनमा वृद्धि गर्न र पर्यटकलाई आकर्षण गर्न आफूहरुले व्यावसायिक रुपमा माछापालन गरेको बताए । समितिले आफ्ना उपभोक्तालाई प्रतिकिलो रु दुई सयमा र बाह्य ग्राहकलाई प्रतिकेजी रु २८० मा बिक्री गर्ने निर्णय गरिएको उहाँले जानकारी दिए । उनले माछा बिक्रीबाट भएको आम्दानीले कर्मचारीको पारिश्रमिक र तालमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने बताए । तालमा ग्रास, नैनी, रहुलगायत जातका माछापालन गरिएका छन् ।

विगतका वर्षमा सो ताल जलकुम्भी र माटोले पुरिएको थियो । जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकास कार्यालय, ताल संरक्षण समिति तथा स्थानीयवासीको सहयोग तथा संरक्षणले तालको अवस्थामा सुधार आएको उपाध्यक्ष केसीले बताए । सो ताल लमही बजारबाट ६ किलोमिटर पूर्वमा रहेको सुनडवरी गाउँ हुँदै उत्तरतर्फ रहेको छ ।