लुम्बिनी

फस्टायो सिद्रा माछाको व्यापार

कृष्णनगर । कपिलवस्तुको चन्द्रौटामा सिद्रा माछाको व्यापार फस्टाएको छ । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा माछा बेच्दै आएका छन् ।

सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट मानिस पुग्ने गर्दछन् । जाडो मौसममा पहाडी जिल्लामा सिद्राको खपत बढी हुने गरेको दाङको तुल्सीपुरबाट सिद्रा खरदि गर्न आएका जाकिर फारुकीले बताए ।जाडो हटाउन सिद्राको झोलले सहयोग गर्ने विश्वास छ । भारतको बढेनीबाट व्यापारीले वर्षेनी लाखौंको सिद्रा नेपाल आयात गर्ने गर्छन् ।

माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिङ्गो, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्ने गरेको माछा बिक्रेता लाला शैयद मुसलमानले जानकारी दिए । सिद्रा प्रतिकिलो रु २५० देखि रु एक हजारसम्ममा बेचबिखन हुने गरेको छ ।