सुदूरपश्चिम

युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

डोटी । गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् ।

पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् ।  युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स–साना केटाकेटी तथा महिला मात्रै रहेको केआई सिंह गाउँपालिका–१ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताए।

कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढेलेखेका युवा पनि रहेका स्थानीयवासी बताउँछन् । रोजगारी अभावले भारततिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी मणिराम विकले गुनासो गरे । गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

युवाहरु भारत पलायन भएपछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीलाई स्याहार–सुसार गर्ने मान्छे पनि नभएको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी बमबहादुर कलेलले बताए । उनले भने, “युवाहरु भारत पलायन भए, गाउँमा बूढापाकालाई केही भइहाले पनि अस्पतालसम्म पु¥याउने मान्छे नै छैनन् ।” यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्लापहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्लीलगायतका ठाउँमा जाने गरेका छन् ।