पर्यटन/संस्कृति

थारू संस्कृति जगेर्ना गर्न खिचरा महोत्सव

भरतपुर । थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा हुनलागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजक थारू कल्याणकारिणीसभा क्षेत्र नं ७ खैरहनीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

यस वर्षको महोत्सवलाई विशेष बनाउन थारू संस्कृतिसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए । उनले थारू जातिमा मात्र सीमित रहेको संस्कृतिलाई आम मानिसमा पु¥याउन महोत्सवले महत्वपूर्ण योगदान दिने बताए ।

चितवन जिल्लामा आदिमकालदेखि आदिवासी थारू समुदायको बसोबास रहेको क्षेत्रमा हुनलागेको महोत्सवले विशेष महत्व र अर्थ राख्ने थारू कल्याणकारिणीसभा चितवनका पुर्वअध्यक्ष तथा महोत्सवका आर्थिक समिति संयोजक टेकेन्द्र चौधरीले बताए । उनले माघी पर्वलाई उत्सवका रूपमा मनाउन र थारू समुदायका मानिस जमघट हुने साझा थलोका रूपमा महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा थारू संस्कृति झल्कने घरहरूका साथै खानाका परिकारहरु, थारू सांस्कृतिक मिनी सङ्ग्राहलय, घोघीं र चिचरको मूर्ति, हाँस समाउने प्रतियोगिता, चेपाङ र दराई जातिका परम्परागत खानाका परिकारसँगै विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरिनेछ । त्यस्तै महोत्सवमा बालउद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरू रहनेछन् ।