खेलकुद

गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको खेल क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको नाम पु¥याउनका लागि नीति र कार्यक्रममा खेल क्षेत्रलाई समावेश गरेर अगाडि बढ्न सुझाव दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले फुटबलको विकासका लागि नगरपालिकाले रु एक करोड २० लाख लागतमा दुई फुटबल मैदान निर्माण गर्न लागेको जानकारी दिए ।
जोरपाटी फुटबल क्लबका अध्यक्ष दीपक लामाले नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । एक हप्तासम्म चल्ने उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका १४ वडाका १४ टिमको सहभागिता रहनेछ । कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीलाई सम्मानसमेत गरिएको थियो ।