कर्णाली प्रदेश

सूक्ष्म समस्या थाहा पाउन सङ्घीय व्यवस्था: मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सूक्ष्म समस्या थाहा पाउन मुलुकमा सङ्घीय व्यवस्था आएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा शनिबार आयोजित कर्णाली प्रदेशका १० जिल्लाका नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्षको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सङ्घीय शासन व्यवस्थाले जनस्तरसम्मका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “कर्णालीको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय एवं प्रभावकारी सेवा प्रवाहका लागि हामीले मैदान तयार गरेका छौँ, अब नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्षले क्षमता प्रदर्शन गर्नुस् ।” हामी सबैको एउटै प्रतिबद्धता मुलुकको समस्या समाधान हो भन्दै मुख्यमन्त्री शाहीले पदबहाली गरेलगत्तै सबै जिल्लाका हालसम्मको स्वास्थ्य सेवा प्रवाहको अवस्थाको प्रतिवेदन दिन सुझाए ।

सो अवसरमा सामाजिक विकासमन्त्री दल रावलले नवनियुक्त अध्यक्षलाई शपथ ग्रहण गराउँदै विकासका अन्य सूचक झैँ कर्णालीको स्वास्थ्य अवस्थाको सूचक निकै कमजोर रहेको बताए । “प्रदेश सरकारले महत्वका साथ यहाँलाई नियुक्त गरेको छ”, मन्त्री रावलले भने । “जनतालाई लोकतन्त्र, मौलिक हक र स्वास्थ्य सेवाको प्रत्याभूति हुनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।”

नवनियुक्त अध्यक्षको प्रतिनिधित्व गर्दै प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलले स्वास्थ्य क्षेत्रमा नमूना काम गर्ने अवसर प्राप्त गराएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विश्वकर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव कलानिधि पौडेललगायतको सहभागिता थियो ।